शिक्षकहरुलाई राजनीतिक दलको सदस्यता तत्काल त्याग्न शिक्षा विकास इकाइ निर्देशन

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

तनहुँ – शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले जिल्लास्थित विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई राजनीतिक पार्टीको सदस्यता त्याग्न निर्देशन दिएको छ । कुनै पनि राजनीतिक दलको सदस्यता लिएको भए तत्काल त्याग्न शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले भनेको छ ।

इकाइ प्रमुख उद्धवराज कट्टेलले आइतबार सूचना जारी गरी राजनीतिक दलको सदस्यता लिने, कार्यकारिणी समितिमा रहने, महाधिवेशन प्रतिनिधि हुने जस्ता कार्य नगर्न ध्यानाकर्षण गराएका हुन् ।

त्यस्ता कार्य गरेको पाइएमा कानून बमोजिम कारबाही हुने उनले उल्लेख गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएका जस्ता विषय उल्लेख गरी मन्त्रालयमा प्राप्त निवेदनहरुका सम्बन्धमा राजनीतिक दलमा संलग्न शिक्षक, कर्मचारीहरुलाई शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली, २०५९ को प्रावधान साथै उच्च अदालत पाटनको परमादेश आदेश बमोजिम शिक्षकलाई राजनीतिक दलको सदस्यता नलिन ध्यानाकर्षण गराइएको छ ।

अदालतको आदेश र कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गराउनु भनी विपक्षीहरुका नाममा परमादेशको आदेश जारी भएकाले सामुदायिक विद्यालयमा कार्यरत कुनैपनि शिक्षकले शिक्षा ऐन, २०२८ को दफा १६ ङ को उपदफा (५) को खण्ड (छ) मा रहेको कानूनी व्यवस्था र शिक्षा नियमावली, २०५९ को प्रावधान पालना गर्न अनुरोध गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्