
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को उपनिर्वाचनका लागि प्रारम्भिक उमेदवारको नामावली प्रकाशन गरेको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले बुधबार ६ जना आकांक्षीको नाम सार्वजनिक गरेका हुन् ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका सचिव बरालले निकालेको सूचनाअनुसार गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा. शेषरमण न्यौपानेले उम्मेदवारी दिएका हुन् ।
दावेदारी प्रस्तुत गर्नेमध्ये डा. शेषरमण न्यौपाने तनहुँ निवासी हुन् । उनी रास्वपा तनहुँ-२ को सभापति हुन् ।
प्रारम्भिक उम्मेदवारीउपरको दावी विरोध गर्ने समय चैत १४ देखि १५ गते दिउँसो १ बजेसम्मलाई निर्धारण गरिएको छ । पार्टी स्रोतका अनुसार हालै माओवादी त्याग गरेका मिलन लिम्बूलाई उम्मेदवार बनाउने नेतृत्वको तयारी छ ।
प्राविधिक रुपमा प्राइमरी इलेक्सन भनिए पनि अन्य उम्मेदवारलाई पछि हट्न दबाब दिएर मिलनलाई खडा गर्ने बलियो सम्भावना रहेको छ । मिलन जनजाति पत्रकार महासंघका महासचिव तथा रास्वपा सभापति रवि लामिछानेका पूर्वसहकर्मी पनि हुन् ।