माधव नेपालले पार्टी बलियो बनाउन कार्यकर्तालाई दिए निर्देशन

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

१५ भदौ, पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चा, नेपालको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत पार्टी बलियो बनाउन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।
उनले पार्टीलाई बलियो बनाउँदै समाजवादी मोर्चालाई पनि गतिशील बनाउन आग्रह गरेका छन् । उनले भने, ‘ म हाम्रो पार्टीको कार्यकर्तालाई भन्न चाहन्छु । आफ्नो पार्टी पनि बलियो बनाउनुस् ,समाजवादी मोर्चालाई पनि गतिशील बनाउनुस् ।’

उनले एकीकृत समाजवादी माओवादीमा विलिन हुने प्रचार भएको भन्दै मन मिल्ने पार्टीहरुका बीचमा एकता गर्न समाजवादी मोर्चा भित्र कुनैपनि रोक नलगाइएको बताए ।
म सुन्ने गर्दछु, यो मोर्चा बनाएपछि यो पार्टीहरु विलिन हुनेछन् । हाम्रै पार्टी भित्र पनि कतिपयलाई लागेको छ, यो माओवादीमा विलिन हुने हो कि भनेर , अरु कसैलाई जनता समाजवादी पार्टीमा लागेको पनि होला । जताजता मिल्न मन लागेको छ, उहाँहरुलाई मिल्नमा हामी रोक लगाउँदैनौँ । तर हाम्रो पार्टीको कुरा हामी भन्नेछौँ ।’ उनले भने ।

उनले संगठनलाई गतिशील बनाउन ,जनतामा जान मोर्चामा आवद्ध रहेका पार्टीका सबैलाई उनले आपसमा खुट्टा नतानी काम गर्न आग्रह गरे ।

उनले भने, ‘प्रत्येक पार्टीलाई भन्न चाहन्छु, तपाईहरु आ–आफ्नो ठाउँमा जनताको माझमा जानुस् । संगठन गतिशील बनाउनुस् । जनतासँग जोडिनुस् । राम्रो काम गर्नुहोस् । राम्रो व्यवहार देखाउनुहोस् । असल आचरण देखाउनुहोस् । तपाईहरु असल नेता बन्नुहुनेछ ।’

काम गर्न सके काम गर्नुहोस् र काम गर्न नसके बाटो छोड्नुहोस् पनि उनको आग्रह छ । ‘तपाईहरुलाई म भन्न चाहन्छु खुट्टा तान्ने होइन । यो अर्को पार्टीको मान्छेले काममा प्रभाव फैलाउन थाल्यो भनेर अन्तर्विरोध गराउने होइन । काम गर्नुस् । गर्नुहुन्न भन्ने पन्छिनुस् । कि काम गर्नुस् कि बाटो छोड्नुहोस् ।’ उनले भने ।

उनले नर्सिङ पढाउने कलेज बन्द भएका कारण पढ्नका लागि विद्यार्थीहरु विदेश जानुपर्ने स्थिति आएको भन्दै यस्तो स्थितिको अन्त्य गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

विद्यार्थीहरुलाई अध्ययनका लागि विदेश जानु नपर्ने स्थिति बनाउनुपर्नेमा उनको जोड छ । उनले नेपालको शिक्षण संस्थालाई बढावा दिने नीति बनाउनुपर्ने बताए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्