
भदौ १२, तनहुँ,
तनहुँको व्यास नगरपालिकाले बजार व्यवस्थित बनाउन मापदण्ड विपरीत राखिएका ‘ होर्डिङबोर्ड’ हटाउन शुरु गरेको छ । दमौली बजारलाई व्यवस्थित बनाउने योजना अनुरुप विभिन्न ठाँउमा रहेका विज्ञापनका लागि राखिएका ‘ होर्डिङबोर्ड’ भित्तामा टासिएका पम्प्लेट लगाएतलाई नगरपालिकाले हटाउने कार्य सुरु गरेको हो ।
नगर प्रहरी शाखाका प्रमुख आशिस परियारका अनुसार सोमबार मात्रै सफासडक, तरकारी लाईन,मालपोत लाईन,सत्यवति लाईन, भोर्लेटार चोक लगायत बजारको मुख्य बजार क्षेत्रमा रहेका ‘ होर्डिङबोर्ड’हटाएको छ । उनका अनुसार नगरपालिकाले तोकेका निश्चत ठाँउमा वा नगरपालिका संग सम्झौता गरेरमात्रै मापदण्ड अनुसारको बोर्ड राख्न पाइने छ । साथै बजार क्षेत्रको सडक पेटिका मा नियम विपरित अव्यवस्थित रुपमा राखिएका व्यापारिक प्रयोजनका सामग्री हटाई व्यवस्थित गर्न आग्रह गरिएको उनले बताए ।
त्यस्तैगरी नगरपालिकाले इन्टरनेट सेवा प्रदायक संग समन्वयगरी बजार भित्र रहेका अव्यवस्थित तारहरु पनि व्यवस्थित गर्न थालेको छ । विद्युतको पोलमा जथाभावी तार लगाउँदा आगलागिको जोखिम मात्रै नभई सहर पनि कुरुप देखिएको भन्दै नगरपालिकाले इन्टरनेट सेवा प्रदायकलाई तार व्यवस्थित गर्न आग्रह गरेको थियो ।
सोही अनुसार भदौ महिना भित्रमै दमौली बजार भित्रका अव्यवस्थित तारहरु पनि व्यवस्थित हुने नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । उनले नगरपालिकाको समन्वयमा तारहरु व्यवस्थित गर्न थालिएको बताए । उनले भने, ‘इन्टरनेट र टिभी सेवा प्रदायकले आवश्यकता भन्दा बढि तार विद्युतको पोलमा झुन्ड्याइ दिन्छन् जसको कारण शहर कुरुप मात्रै नभई कहिलेकाहि पोलमा आगलागीका घटना समेत भएका छन् त्यसैले नगरपालिकाले इन्टरनेट सेवा प्रदायक संग समन्वय गरेका थियौँ, सोहि अनुसार तारहरु व्यवस्थित गर्न थालिएको छ ।’