२६ घण्टा पछि डुम्रे–दमौली खण्ड एकतर्फी सञ्चालन

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली : पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्गको डुम्रे–दमौली खण्ड एकतर्फी सञ्चालनमा आएको छ। अवरुद्ध भएको करिब २६ घण्टापछि बिहीबार साँझबाट एकतर्फी सञ्चालनमा आएको हो।

व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरोले गर्दा बुधबार साँझ ५ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो। राजमार्गको अवरोध हटेपछि यात्रु आ–आफ्नो गन्तव्यमा लागेका छन्।

शुक्रबारसम्ममा राजमार्ग दुईतर्फी सञ्चालन गर्ने गरी पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताए।

यात्रुलाई अप्ठ्यारो नपरोस् भन्नको लागि छिटो सञ्चालन गर्न दुईतर्फीबाट पहिरो पन्छाउने काम गरिएको रायले जानकारी दिए ।पहिरो गएपछि सडक पूर्ण रुपमा अबरुद्ध हुँदा २६ घण्टा वैकल्पिक मार्ग प्रयोग गर्नु परेको उनले बताए ।

साना तथा मझौला सवारी साधनको लागि दमौली–घाँसीकुवा मार्ग अन्तर्गत तालघरे, दरै पँधेरा हुँदै घाँसीकुवाको प्रयोग गरिएको थियो ।

पहिरो हटाउने काम मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डले गरेको थियो। त्यस क्षेत्रमा पहिरोको जोखिम कायमै रहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्