
१० भदौ, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एउटा संसदीय समितिको सभापति दिन प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार भएका छन् । प्रचण्डले‘सबैलाई समेटेर जान चाहेको’ भन्दै राप्रपालाई एउटा सभापति दिने प्रतिबद्धता जनाएको स्रोतले बतायो ।
सोमबार दिउँसो ३ बजे मिनि पार्लियामेन्टका रूपमा चिनिने संसदीय समितिको सभापतिका लागि निर्वाचन हुँदैछ । १० वटा विषयगत समितिको नेतृत्वका आकांक्षीहरूले आज उम्मेदवारी दर्ता गर्दैछन् । कांग्रेसले ३ वटा र माओवादीले २ वटा समितिको नेतृत्व पाउने गरी समझदारी भएको थियो । माओवादीको भागमा परेकामध्ये एउटा राप्रपालाई दिने प्रस्ताव प्रचण्डले गरेका हुन् ।
राप्रपा अध्यक्ष राजेन्द लिङदेनले संसदीय समिति सभापतिबारे प्रचण्डसँग कुराकानी गरेका थिए । उनी अहिले दुबईमा छन् । उनी उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक दिएर दुबई गएका हुन् । तामाङले हिजो साँझ प्रचण्डसँग संसदीय समितिबारे छलफल गरेका थिए । राप्रपा स्रोतका अनुसार प्रचण्डले राप्रपाका कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङलाई फोन गरेर एउटा सभापति दिन तयार रहेको बताएका हुन् ।