
भदौ ९ तनहुँ
शुक्लागण्डकी नगरपालिका– ६ कमलबोटबाट गाई काट्दै गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रमेश नेपाली, दिपक नेपाली र शिर बहादुर नेपाली रहेका छन् । शनिबार आफनै घरछेउमा गाई कोटेर भाग लगाउँदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरिक्षक गणेश सुवेदीले बताए ।
उनका अनुसार तीन जना मापसे गरेर गाई काटेका छन् भन्ने सुचना प्राप्त भयो । ‘त्यसपछि तत्कालै प्रहरीको टोली त्यहाँ पुग्दा उनीहरुले गाई काटेर मासु भाग लगाइरहेका थिए । मासु काटिसकेको भएपनि टाउको चाहिँ त्यतिकै थियो । टाउको हेर्दा गाई त्यति बुढो पनि थिएन,’ उनले भने ।
आफ्नै घरको गाई काटेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।