बंगलादेशी प्रधानमन्त्री हसिनाले दिइन् राजीनामा, सेनाकाे हेलिकप्टरमार्फत भारतमा शरण

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौँ — बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छिन् । ढाकास्थित संवाददातालाई उद्धृत गर्दै बीबीसी विश्व सेवाले प्रधानमन्त्री हसिनाले राजीनामा दिएको पुष्टि गरेको हो ।

अर्को एक रिपोर्टमा प्रधानमन्त्री हसिनाले बंगलादेश छाडिसकेको समेत उल्लेख छ । यसअघि सुरक्षाका लागि भन्दै प्रधानमन्त्री हसिनासहित बहिनी शेख रेहानाले सरकारी निवास गणभवन छाडिसकेको समाचार सार्वजनिक भएको थियो ।

यसैबीच गणभवन पुगेका प्रदर्शनकारीले विजयीभावमा उत्सव मनाइरहेका छन् । बंगलादेशी टेलिभिजन च्यानल २४ लाई उद्धृत गर्दै एएफपीले प्रधानमन्त्री निवासमा भिड जम्मा भएको जानकारी दिएको हो । उनीहरूले क्यामेराअघि उभिएर विजयीभावमा उत्सवसमेत मनाएको दृश्य टेलिभिजनले प्रसारण गरेको समाचारमा उल्लेख छ ।

आइतबारदेखि बंगलादेशमा पुन: आन्दोलन चर्किएको हो । केही दिन मत्थर भएको सरकारविरोधी आन्दोलन पुन: चर्किएको हो । आइतबार बंगलादेशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा ९६ जनाको मृत्यु भएको ढाका ट्रिब्युनले जनाएको छ । ‘विभेदविरोधी विद्यार्थी आन्दोलन’ को ब्यानरमा भएको प्रदर्शनका क्रममा ठाउँ-ठाउँमा सुरक्षाकर्मीसँग झडप भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।

सोमबार कम्तीमा पनि ४ लाख मानिस सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ढाकामा सोमबार मात्र प्रदर्शनका क्रममा ६ जनाको मृत्यु भएको छ । राजधानी ढाकामा गाउँगाउँबाट समेत प्रदर्शनका लागि मानिसहरू आएको समाचारमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्