पोखरा – पोखरा महानगरपालिका वडा नं. २१ गुड्कुस्थित भित्री सडक खण्डमा आज बिहान स्कुल बस दुर्घटना हुँदा आमा छोराको मृत्यु भएको छ ।
आज बिहान करिब ९ बजे पोखरा १७ बिरौटास्थित एलपी देवकोटा मेमोरियल ईङ्लिस बोर्डिङ स्कुलको ग१क ६२१९ नं.को बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा पोखरा-२१ की ३३ वर्षीया आरती विक र उनका ६ वर्षीय छोरा प्रिन्स बिक रहेका छन् । आरती स्कुलकी कार्यालय सहयोगी हुन् भने प्रिन्स सोही स्कुलमा अध्ययनरत थिए ।
दुर्घटनामा बस चालक पोखरा-१७ बिरौटाका ५५ वर्षीय टेकबहादुर भुजेल, शिक्षक पोखरा-२१ की ३० वर्षकी सपना आले र अभिभावक पोखरा-२१ कै ३० वर्षकी सुमित्रा सुनारसहित ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
दुर्घटनामा घाइते भई गण्डकी मेडिकल कलेजमा उपचाररत विद्यार्थीमा पोखरा-२१ कृस्तीका ९ वर्षीय अनमोल विक, ५ वर्षीय रोशन बराल, रामदीका १४ वर्षीय दिप्सन कार्की, ११ बर्षका विवश खत्री, ७ वर्षीय चिजा विक ६ वर्षीया योना गुरुङ, १३ वर्षकी डीना गुरुङ, १५ वर्षकी प्रकृती कार्की, एकहातेका ६ वर्षीय प्रिन्स राना, १२ बर्ष की सिम्रन विक, ९ वर्षीय प्रवेश कार्की, बर्ष १२ की विशिका पौडेल, ११ वर्षीय विश्वास पौडेल छन् ।
यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत घाइते विद्यार्थीमा पोखरा-२१ की ८ बर्षीया अनन्या पौडेल, बर्ष ३ की सिम्रन मगर, बर्ष ३ का न्युजन मगर, बर्ष ७ का रिजन मगर, बर्ष १२ का रामकृष्ण नेपाली, बर्ष २ का अंकित खत्री, बर्ष १४ की सीतादेवी विक, बर्ष ७ का अस्मित विक, बर्ष २ का निर्दोष सुनार, बर्ष ११ का निश्चल सुनार छन् । जसमा सीतादेवी विक छोरेपाटन माविमा अध्ययनरत विद्यार्थी रहेको बताइएको छ । यस्तै मणिपाल शिक्षण अस्पतालमा उपचाररत घाइते विद्यार्थीमा पोखरा-२१ रामदीका बर्ष ८ का निशान सुनार र बर्ष ५ का सागर थापा छन् ।
यसैबीच अस्पतालमा रहेका दुर्घटनाका घाइते विद्यार्थीको अवस्था बुझ्न पोखरा महानगर प्रमुख धनराज आचार्य पोखरा पुगेका छन् ।
सो क्रममा घाइते विद्यार्थीले बस तीव्र गतिमा गुडाएका कारण अनियन्त्रित भएर पल्टिएको बताएका थिए । २० सीट क्षमताको बसमा ३० जना राखेर चलाएको समेत पाइएको छ ।