
दमौली : तनहुँको व्यास नगरपालिकाले आफ्नो कार्यालय प्राङ्गण भित्रै नकुहिने फोहोर व्यवस्थापन गर्ने भएको छ ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सोमबार बसेको नियमित बैठकले सो निर्णय गरेको नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष जीवन गुरुङले जानकारी दिए ।
नकुहिने पुनः प्रयोगमा आउने सामग्री व्यवस्थापन गर्ने जग्गा खरिद प्रकृया चलिरहेकाले सोको टुङ्गो नलागेसम्म वा अर्को व्यवस्था नभएसम्म व्यास नगरपालिकाको कार्यालय प्राङ्गण भित्रै नकुहिने फोहोर व्यवस्थापन गर्ने निर्णय भएको गुरुङले बताए ।
नगरपालिकाले हाल कुहिने र नकुहिने फोहोर सङ्कलनलाई श्रोतबाटै वर्गीकरण गर्दै आईरहेको छ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत १४ वटै वडाका वडा अध्यक्षहरु, सबै कार्यपालिकाका सदस्यहरु समेत उपस्थिति भई सो निर्णय गरेको नगरपालिकाले जनाएको छ ।