नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाऔँः सांसद वाग्ले

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाउन सुझाव दिएका छन् । विनियोजन विधेयक, २०८१ सम्बन्धी प्रतिनिधिसभाको आजको बैठकमा भएको छलफलमा उनले विश्वसनीयता र क्षमताको सुधार, चालु खर्चलाई नियमन साथै अर्थतन्त्रको आकार बढाउने विषयमा ध्यान दिन सुझाव दिएका हुन् ।

सांसद वाग्लेले लामो समयपछि अर्थतन्त्रको आकार प्रक्षेपित ३० प्रतिशतभन्दा कममा आएकाले यसलाई सुरक्षित अवतरणको चरणका रुपमा रहेको टिप्पणी गरे । उनले सिङ्गो सदन ‘न्युनमोरेटर’मा फोकस गरिरहेकाले ‘डिमोरेटर’मा ध्यानदिनुपर्नेमा जोड दिए । उनले भने, “१७/१८ खर्बको बजेट हैन कि ५७/६० खर्बको अर्थतन्त्रको आकार बढाउनेमा गयौँ भने यो बजेट विनियोजन विधयेकमा गइरहेको अधिक ध्यान गौण हुने मेरो बुझाइ छ ।”

सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयअन्तर्गतको विभिन्न शीर्षकमाथिको छलफलमा सांसद वाग्लेले परम्परागत ऊर्जाको स्रोतबाट आधुनिक ऊर्जाको स्रोततर्फ जानुपर्ने बताए । त्यसका लागि विद्युत् उत्पादन, प्रसारण र खपततर्फ बजेट विनियोजनले महत्व दिनुपर्नेमा उनको जोड थियो ।

उनले मनसुन र अन्य समयमा ऊर्जा उत्पादनबीच सन्तुलन नहुँदा ऊर्जा असुरक्षा बढेकोतर्फ ध्यानाकर्षण गराए । सांसद वाग्लले बजेटको लक्ष्य र जानुपर्ने दिशा ठीक भएको बताए। यसको कार्यान्वयका लागि पूँजीको खाडल पूर्तिलाई सहजीकरण आवश्यक भएकाले निजी क्षेत्रको सहभागितामा उनले जोड दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्