उपेन्द्रलाई अशोकको जवाफ– अदालतको ढोका सबैलाई खुला छ

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अदालत जान चुनौती दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरूको पार्टी कानुनसम्मत रूपमा दर्ता भएको जिकिर गरे ।

“अदालतको ढोका सबैको लागि खुला छ । निर्वाचन आयोगजस्तो संवैधानिक संस्थाले असंवैधानिक भए दर्ता गर्दैन थियो नि,” उनले भने, “उहाँहरू अदालत जान सक्नुहुन्छ । कानुनसम्मत दर्ता भएको पार्टीलाई अन्यथा हुने कुरा छैन ।

जसपा, नेपालका अध्यक्ष यादवले बुधबार (हिजो) पत्रकार सम्मेलन गर्दै असंवैधानिक रूपमा पार्टी दर्ता गरिएको भन्दै निर्वाचन आयोगविरुद्ध अदालत जाने बताएका थिए ।

अध्यक्ष राईले आफ्नो पार्टी सरकारमा नै रहेको बताए । यादवको पार्टी सरकारमा रहने/नरहने विषय प्रधानमन्त्रीमा निर्भर हुने उनले उल्लेख गरे ।

“सरकारमा नै छौँ । हाम्रो पार्टीको तर्फबाट मन्त्री सरकारमै हुन्नुहुन्छ । उहाँ (यादव) सरकारमा रहनुहुन्छ कि रहनु हुन्न, प्रधानमन्त्रीले निर्क्योल गर्नुपर्ने कुरा हो । कस्तो प्रगति हुन्छ, समयले देखाउला,” राईले भने ।

उनले कसैसँग लेनदेनका आधारमा पार्टी विभाजन नगरिएको जिकिर पनि गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्