एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, कतार ३२ रनले पराजित

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं -ओमनमा जारी एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको हो ।

नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन मात्र बनाउन सक्यो । कतारका लागि कप्तान मोहम्मद तनवीरले सर्वाधिक ६३ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन । मोहम्मद अह्नाफले २३, हिमान्शु राथोड २२ र अदनान मिर्जाले १९ रनको योगदान दिए ।

बलिङमा नेपालका ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले दुईदुई, अभिनास बोहरा र कुशल मल्लले एकएक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २१ बलमा ६४ रनको आक्रामक अविजित खेले । दीपेन्द्रले अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका थिए । योसँगै उनी एकै ओभरमा ६ छक्का प्रहार गर्ने पाचौं खेलाडी बनेका छन् ।

ओपनर आसिफ शेखले ५२, कुशल मल्लले ३५, कप्तान रोहित पौडेलले १८, सन्दीप जोराले ७, कुशल भुर्तेलले १२, गुल्सन झाले ५ र विवेक यादवले ५ रनको योगदान दिए । बलिङमा कतारका हिमान्शु राथोडले ३, मुशावर शाहले ३ र अमिर फारुकले एक विकेट लिए । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्