दमौली : विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको मुग्लिङ–पोखरा खण्डको काम तनहुँको सदरमुकाम दमौलीमा राजमार्गको क्षेत्राधिकार भित्र रहेको घर भत्काउन ढिलाइ हुँदा प्रभावित भएको छ । राजमार्गको अन्यत्र काम धमाधम भइरहेपनि दमौलीमा सडक विस्तार हुन सकेको छैन ।
अधिकांशले घर भत्काउन आलटाल गरेपछि सोमबार व्यास नगरपालिकाले प्रेस विज्ञप्ति प्रकाशित गरी तुरुन्त घर भत्काएर निर्धारित समयमा काम पुरा गर्न सहयोग गर्न आग्रह गरेको छ । व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेलेद्वारा जारी विज्ञप्तिमा संरचना हटाउन ढिलाइ भएको प्रति नगरपालिकाको ध्यानाकर्षण भएको जनाइएको छ ।
सडक विस्तार अभियानमा सडक अधिकार क्षेत्रभित्रका संरचना हटाउन आयोजनाको तर्फबाट क्षतिपूर्ति समेत उपलब्ध गराइएको छ । दमौली बजार अन्तर्गत वडा नं.२ र ४ का केही घरहरूले सडक अधिकार क्षेत्रका संरचनाहरू हटाई सहयोग पुर्याउनुभएकोमा त्यस्ता घरधनी सामाजिक सङ्घ-संस्थालाई हार्दिक धन्यवाद ज्ञापन गरिएको छ । साथै अझै केही घरधनीहरू सम्पर्कमा नआएका, केही घरधनीहरूले मुआब्जाको पहिलो किस्ता बुझेर पनि संरचना हटाउन ढिलाइ गर्नु भएको प्रति नगरपालिकाको ध्यान आकर्षण भएको जनाइएको छ । अब केही महिनापछि वर्षा लाग्ने भएकाले सडक निर्माण कार्यलाई तीव्रता दिई सहरको सौन्दर्यता र धुलोले वातावरणमा पुर्याएको असरलाई कम गर्न सबै सरोकारवाला घरधनीहरूलाई २०८० चैत महिनाभित्रै आयोजनामा सम्पर्क राखी आ–आफ्नो मुआब्जा रकम बुझ्न तत्काल सडक क्षेत्रका घर संरचना हटाई सडक विस्तार, विद्युत पोल स्थानान्तरण कार्यमा सहयोग गर्न आग्रह गरिएको छ । यस कार्यको लागि सहजीकरण गरिदिनु हुन सामाजिक सङ्घ-संस्था, राजनैतिक दल, सुरक्षा निकाय समक्ष नगरपालिकाले आग्रह गरेको छ ।

