
काठमाडौँ – माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको नेतृत्व छाड्न लिखित रुपमै आग्रह गरेका छन्।
जारी स्थायी समिति बैठकमा पार्टीको अवस्था र अब कस्तो हुनुपर्छ भन्ने धारणा राख्दै शर्माले नेतृत्वबाट हट्न दाहाललाई आग्रह गरेका हुन्।
शान्ति प्रक्रियामा आएपछि पार्टी निरन्तर खस्किदै गए पनि त्यसको जिम्मेवारी नेतृत्व तहले लिन नचाहेको गुनासो गरेका छन्।
शर्माले पार्टी कमजोर हुँदै जानुको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरेका छन्। शर्माले पार्टीमा भएका नेता कार्यकर्ताहरु पन असन्तुष्टि मात्रै बोकेर बसिरहेको उल्लेख गरेका छन्।
‘२०६४ सालको चुनावका वेला १२० सिटमा हामीलाई बहुमत दिने मतदाता र निर्वाचन क्षेत्र प्राय सबै हामीबाट खोसिएका छन्। हामी शुन्यतर्फ उन्मुख छौं । पहिलो संसदीय निर्वाचनमा हामीलाई प्राप्त ३१ लाख मतदाताको अभिमत अहिले खस्किरहेको छ, शर्माले स्थायी कमिटिको बैठकमा पेश गरेको लिखित धारणामा अगाडि भनेका छन्,
‘त्यसपछिका निर्वाचनमा कुल मतदाता संख्या बढे पनि हामी भने निरन्तर १४ लाख, ११ लाख हुदै अझ खुम्चिनेतिर उन्मुख छौं । विडम्बना के छ भने, आज पार्टीमा जो जति छन्, ती सबै असन्तुष्टि बोकेर बाँचेका छन्। यसको जिम्मेवारी अहिलेको मूल नेतृत्व र नेतृत्वको टिमले लिन किन आनकानी गरिरहेका छौं?’
शर्माले कमजोरी विनाको नेतृत्व नहुने भएकाले त्यसलाई सच्याएर जानुपर्ने उल्लेख गरेका छन्। माक्र्स, एंगेल्स, लेनिनका पनि कमी कमजारी भएको उल्लेख गर्दै उनले पार्टी नेतृत्वमा पनि समस्या रहेको उल्लेख गरे। उनले भनेका छन्, ‘हाम्रो पार्टी र आन्दोलनमा अन्तरसंघर्ष र दुई लाइन संघर्ष संचालन गर्ने सन्दर्भमा एकथरिले अन्धसमर्थन गर्ने र अर्कोथरिले वर्गसंघर्षकै रुपमा बुझ्ने प्रवृत्ति हावी छ । यसलाई पार्टी निर्माण र नयाँ परिस्थिति अनुसार रुपान्तरण र विकासको अर्थमा बुझ्ने चेतना अभिवृद्धि गर्न जरुरी छ । त्यस अर्थमा पुरानालाई सम्मान नयाँलाई प्रोत्साहनको मान्यतामा रही निम्न विकल्पमा जानुपर्छ।’
पार्टी नेतृत्वको विकल्पमा शर्माले तीनवटा उपाय सुझाएका छन्। जसमा नेतृत्व हस्तान्तरण गर्ने, पुस्तान्तरण गर्ने र महाधिवेशन गरेर नयाँ नेतृत्व ल्याउने।
नेतृत्व हस्तान्तरणः अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चत गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने। वा,
नेतृत्व पुस्तान्तरणः अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने। हालका पदाधिकारीहरु सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मुल्याङ्कन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेश्रो तहका युवाहरुलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने। वा।
हालको केन्द्रीय कमिटी भङ्ग गरी क। प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नेगरी मिति तोक्ने ।