
दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँले भिमादमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा ज्ञापनपत्र बुझाएका छन् ।
रास्वपा तनहुँलेआइतवार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेको हो ।
जिल्ला प्रशासन कार्यालय तनहुँ सदरमुकाममा हुँदा सदरमुकामबाट टाढा रहेका दक्षिण पश्चिम भेगका सर्वसाधारणलाई सेवा लिन आउन समस्या भइरहेकाले इलाका प्रशासन कार्यालय स्थापना गरी सहज गरिदिन माग गरेको रास्वपा तनहुँ क्षेत्र नम्बर २ का सचिव सुन्दर बस्यालले जानकारी दिए ।
जनताको घरदैलोमै सरल, सहज, सुलभ, झन्झटरहित एवं गुणस्तरीय सेवा पुर्याई संघीयताको अनुभूति गराउन ढल्केवरमा इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने उनीहरुको भनाइ छ ।
घिरिङ गाउँपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाका केही वडाका वासिन्दालाई नागरिकलाई नागरिकता, तथा राहदानी लिन सहज हुने र शान्ति सुरक्षाको प्रत्याभूति हुने ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले इलाका प्रशासन कार्यालय स्थापनाको लागि आफू पनि प्रयासरत रहेको जवाफ दिए ।