
काठमाडौं – मुकुल ढकालले निर्वाचन आयोगमा दिएको निवेदनमा तत्कालै निर्णय नदिने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीबाट निष्कासन गरेपछि ढकालले आयोगमा दिएको निवेदनमा तत्कालै निर्णय नहुने भएके हो ।
प्रवक्ता रघुराम विष्टका अनुसार अहिलेसम्म निर्वाचन आयोगको विवरणमा रास्वपाका महामन्त्रीमा ढकाल नै छन् । ढकाललाई कारबाही गरेपछि पदाधिकारीमा भएको हेरफेरको विवरण अध्यावधिक गर्न रास्वपाले निर्वाचन आयोगमा पत्र पठाइसकेको छैन ।
‘पदमुक्त गरेको भनेर रास्वपाले पत्र पठाएको छैन । पहिले पार्टीले पठाउनुपर्यो नि’, विष्टले भने, ‘पार्टीको पत्र आइसकेपछि मात्रै आयोगले ढकालले दिएको निवदेनउपर के गर्नुपर्ने हो गर्छ ।’
ढकालले अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित, अनुशासनहीन र पार्टीहित विपरीत अराजनीतिक व्यवहार प्रदर्शन गरेको आरोप लगाउँदै रास्वपाले महामन्त्री र प्रवक्ताबाट पदमुक्त गरेको थियो ।