
दमौली – तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा कार्तिक महिनाको मङ्गलबार हिजो ६६ फूलको डोली भित्र्याइएको छ । मङ्गलबार सो मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् ।
माघको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको थानीमाई मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापामगरले जानकारी दिए । सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा कात्तिकसँगै मङ्सिर र माघ महिनामा समेत भक्तजनको भीड लाग्ने गरेको छ ।
यसैबीच नेपाली सेनाकाे भानु १ हात्तीचाैरमा रहेकाे रुरु भैरब दल गणले गत वर्ष जस्तै यश वर्ष पनि फूलकाे डाेली थानीमाई मन्दिरमा चढाएकाे छ । नेपाली धर्म, संस्कृति , परम्पराकाे जगेर्ना गर्दै समस्त नेपालीहरुकाे कल्याणका लागि मन्दिरमा फूलकाे डाेली चढाईएकाे गणका गणपति प्रमुख सेनानी हिमाचल जङ शाहले बताए ।
मन्दिरमा फूलको डोली चढाउन छिमेकी जिल्ला गोरखा, लमजुङ, कास्कीका अलवा चितवन, नवलपरासी र काठमाडौँबाट भक्तजन आउने गरेका छन् । मन्दिरमा साउन महिना, एकादशी र औँशीबाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ । पछिल्ला वर्षहरूमा थानीमाई जाने नयाँ सडकसमेत खुलेका छन् । सडक खुलेपछि भक्तजनको सङ्ख्या बढ्न थालेको जनाइएको छ । भक्तजन फूलको डोली र पञ्चेबाजासहित मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् ।
परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको जनाउँदै पूजाअर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले वसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ ।
समुन्द्र सतहबाट एक हजार २०० मिटर उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोट लगायत हिमश्रृङ्खलाका दृश्य देख्न सकिन्छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु छ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको थियो ।
विसं १८२५ बाट यस मन्दिरमा पूजाअर्चना सुरुआत भएको बताइएको छ । सोही विसंमा मन्दिर भएका ठाउँमा भोटिनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्र्तध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना सुरु भएको स्थानीयवासीको भनाइ छ ।