छुवाछुत हटाउन व्यास नगरपालिकाद्वारा अन्तरघुलन कार्यक्रम

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली- तनहुँको व्यास नगरपालिका क्षेत्रलााई जातीय विभेद र छुवाछुत मुक्त पालिका बनाउन सबै जातजातिको सहभागितामा आईतबार अन्तरघुलन कार्यक्रम गरिएको छ । व्यास नगरपालिकाको कार्यालयद्धारा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका पूर्व सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रकाश रसाईली स्नेहीले दलित समुदायको सहनशिलतालाई कमजोर नठान्न गैर दलित समुदायलाई आग्रह गरे ।

दलितहरु अझैपनि समाजमा सन्तुलन र सद्भाव नविगारी जातीय छुवाछुत र विभेदको अन्त्य चाहेकोले गैर दलितहरुको साथ आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रसिद्ध पुराण वाचक भीमकान्त भागवतले जातीय विभेद र छुवाछुतको अन्त्यको लागि हिन्दु धर्मका पण्डितहरुको आचरणमा सुधार हुन आवश्यक रहेको बताए । विगतमा सती प्रथाले सबै परिवारमा समस्या भएकोले त्यसलाई हटाउन समुदाय नै सहमत भएपनि छुवाछुत प्रथा दलितहरुको मात्र समस्या भएकोले त्यसलाई हटाउन गैरदलितले नचाहेको समेत उनले बताए ।

दलित र ब्राम्हण दुवै खस आर्य समुदायको भएपनि हिन्दु धर्मका पण्डितहरुले जातजाति विच विभेद गर्दा जातीय छुवाछुत हट्न नसकेको उनले बताए ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य डोवाटे विकले दलितहरु संगठित भएर आन्दोलनमा जुटेको दिन जातीय विभेद र छुवाछुत हट्ने धारणा राखे । मानिस विच विभेद हुनु सभ्य समाजको लागि सुहाउने विषय नभएको उनले बताए ।

कार्यक्रममा व्यास नगर उपप्रमुख ईन्दीरा दरैले अब जातीय विभेदलाई संरक्षण गरेर बस्न नहुने धारणा राखिन् । व्यास नगरपालिकाको कार्यालयले दलित मैत्री कार्यक्रमलाई जोड दिदैं आएको समेत बताईन् ।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशिराम गैरेले अन्तरघुलनले समाजमा जातीय विभेदलाई न्युनिकरण गर्न सघाउ पुग्ने बताए ।

रनसिं नेपाली, रास्पा विश्व वास्तोला, माओवादीका दिलबहादुर नेपाली, जिल्ला समन्वय समितिका पुर्व सदस्य पवित्रा पौडेल, एमालेका जिल्ला सचिव प्रदिप अधिकारी र नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनाल लगायतले कुरामात्र गर्ने तर व्यवहारमा परिवर्तन गर्न नचाहने सोंचले गर्दा जातीय विभेद हट्न नसकेको बताए ।

कार्यक्रममा व्यास नगरकार्यपालिका सदस्य रनसिं नेपालीले जातीय विभेद र छुवाछुत अन्त्यको लागि व्यास नगरपालिकाको कार्यालयले लिएको अभियानमा साथ दिन आग्रह गरे ।

कार्यक्रमका अध्यक्ष तथा दलित मैत्री शसक्तिकरण कार्यक्रम व्यास नगरपालिकाका संयोजक कृष्ण रुचालले जातीय विभेद अन्तयको लागि अब गैरदलितको चेतनामा परिवर्तन हुन आवश्यक रहेको बताए ।

दलितहरु संगठित भई जातीय जागरणको लागि एक हुन समेत उनले सबैमा आग्रह गरे । कार्यक्रमको संचालन महिला तथा बालबालिका उपशाखा प्रमुख राधा आचार्यले गरेकी थिईन ।

उक्त कार्यक्रमको छेको पारेर असार १० गतेदेखि सुरु गरिएको दलित समुदायलाई साताव्यापी कर्मकाण्ड तालिममा सहभागी १८ जना दलित पुरोहितलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा व्यास नगरपालिका क्षेत्रका करिव २ सय जनाको सहभागिता रहेको थियो ।
तस्विर समेत छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्