
दमौली – तनहुँको प्रसिद्ध धार्मिकस्थल छाब्दीवाराहीमा आज शनिबारदेखि नियमित पूजा सुरु भएको छ । साउन महिनाभर बन्द रहेका व्यास नगरपालिका-१४ स्थित छाब्दीवाराही मन्दिरमा आज भदौ १ देखि भक्तजनका लागि खुल्ला गरिएको छ ।
मत्स्य अवतार देवीको रुपमा पुजिने मन्दिरमा मत्स्य अवतार वाराही देवी साउन महिनाभर गुफा बस्ने भएकाले मन्दिरमा एक महिना पूजाआजा बन्द गरिएको छाब्दी वाराही मन्दिर विकास कोषका अध्यक्ष प्रेम थापाले जानकारी दिए । त्यस्तै मन्दिरमा हरेक एकादशी र औशीमा समेत पूजाआजा बन्द हुनेछ ।
छाब्दी बाराहीमा सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेकी जनविश्वास गरिन्छ । मन्दिर बाहिर खोलामा पनि हजारौं माछा छन् । छाब्दी कुण्डमा स्नान गरी उपवासपूर्वक पूजा गरेमा सबै खाले पापबाट मुक्त भइन्छ र मनोकामना पूरा हुने जनविश्वास छ ।
मन्दिरमा तीन जना मगर जातिका पुजारी रहेका छन् । यहॉ साउन, एकादशी र औशी बाहेकका दिनमा बली चढाइने गरिन्छ । मन्दिरमा पूजाआजा गरेर मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । यहाँ तनहुँ सहित छिमेकी जिल्ला कास्की, गोरखा, लमजुङ लगायतबाट भक्तजन आउने गरेका छन् ।