
१ पुस, काठमाडौं । झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म पुष्पलाल मध्यपहाडी लोकमार्ग हुँदै हिंडेको नेकपा एमालेका लागि १८ दिने यात्राले ऊर्जा सञ्चार गरेको बुझ्न सकिन्छ । जुनै नेतालाई सोधे पनि एकैनासको जवाफ दिन्छन्— ‘जनता सरकारसँग आजित भएका रहेछन् । उनीहरूले एमालेलाई नै खोजेका रहेछन् ।’त्यसपछिको तेस्रो वाक्य हो, ‘केपी ओलीकै नेतृत्व चाहेका रहेछन् ।’यी त भए, नेपालका राजनीतिक नेतृत्वले गर्ने सर्वकालीन दावीहरू । कांग्रेस, माओवादी केन्द्र या राप्रपाले नै यस्ता अभियान चलाए पनि ‘जनता’ का नाममा अनेक जिकिरहरू चलिरहन्छन् । खासमा यो यात्राले एमालेको पार्टीपंक्तिलाई सिकायो चाहिं के ? पक्कै एमाले नेतृत्वले काठमाडौं फर्केर विश्लेषण गर्ला ।
१८ दिने मध्यपहाड यात्रा अभियानको मैजारो गर्दै चिवाभञ्ज्याङबाट फिदिम झर्दै गरेका विभिन्न नेतालाई अनलाइनखबरले पालैपालो फोन ग¥यो । उनीहरूलाई सोधिएका विभिन्न प्रश्नको जवाफमा हामीले जे पायौं, त्यसलाई यी बुँदाहरूमा सूत्रीकृत गरेका छौं ः
एक– भुइँतहसम्म दोहोरो कुराकानी : एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पहाडी यात्रा क्रममा देखिन्, शुभेच्छुक जनता नेतालाई आफ्नो घरमा लगेर बास बसाउन होडबाजी गरेको । उनीहरूले जमेर आलोचना गरे, सुध्रिन दबाब पनि दिए । शाक्य मात्रै होइन, अरू एमाले नेताले पनि मध्यपहाड यात्रामा अझै पनि आफ्नो दल र अरू ठूला पार्टीप्रति आकर्षण कायम छ भन्ने पाएको सुनाए ।