तनहुँ- नेकपा एमाले तनहुँको जारी दशौ अधिवेशन अन्तर्गत अध्यक्षमा हरिराज कंडेल र विष्णुभक्त सिग्देलको उम्मेदवारी दर्ता भएको छ । व्यास नगरपालिका-३ देउरालीनगरस्थित मिलन तमु समाजको भवनमा जारी अधिवेशनमा अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
जिल्लाका निवर्तमान उपाध्यक्ष कंडेल र प्रदेश कमिटीका पूर्व सदस्य सिग्देलको बलियो दाबेदारी प्रस्तुत भएको छ ।
कंडेललाई पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारी लगायतका केन्द्रीय नेताहरुको समर्थन देखिएको छ । उता, सिग्देललाई भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समर्थन देखिएको छ । निर्वाचन भएको खण्डमा गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री र वर्तमान मुख्यमन्त्री प्यानल बन्ने सम्भावना बढेको छ ।
कंडेलको समूहबाट उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदीपराज अधिकारी, उपसचिवमा खिम कुमाल र महिला उपसचिवमा सुनिता नेपाली उम्मेदवार तय भएका छन् ।
सिग्देलको समूहबाट उपाध्यक्षमा श्रीराम कार्की, सचिवमा अनिल पाण्डे, उपसचिवमा आरके पोख्रेल र महिला उपसचिवमा बसुन्धरा घर्तीको उम्मेदवारी तय भएको छ ।
निर्वाचन कार्यतालिका अनुसार आइतबार मनोनयन दर्ता, मतदान र मतदान सकिएलगत्तै मतगणनाको कार्यतालिका रहेको निर्वाचन समितिले जानकारी दिएका छन् ।

