पत्थरीको शल्यक्रिया गर्दा मिर्गाैला झिकेपछि बिरामीको मृत्यु

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीको शल्यक्रिया गर्न आएका बिरामीको मिर्गौला झिकेपछि ज्यान गएको छ।

कंचनपुर वेलौरी नगरपालिका वडा नं १० शिवनगर बस्ने ५६ वर्षीय ऐजनलाल चौधरी मिर्गौलामा भएको पत्थरीको शल्यक्रियाका लागी शनिवार बिहान स्वस्तिक अस्पतालमा भर्ना भएका थिए।

शनिबार दिउसो डेढ बजे शल्यक्रिया गर्ने कोठामा उनलाई लगियो। चिकित्सक जोनेश तिवारीले उनको पत्थरीको शल्यक्रिया गरे।

‘डाक्टर आएर अप्रेसन सफल भयो भनेर भने, हामी खुसी भयौ’ मृतकका भतिजा राजकुमार चौधरीले भने। शल्यक्रिया गरेर पत्थरी निकालेपनि शल्यक्रिया गर्दा त्रुटि भएको उनको भनाई छ।

शल्यक्रिया गरेको करिब १ घण्टापछि पेट फुल्दै छ र धेरै दुख्न थाल्यो भनेर बिरामीले भन्न थाले। आफन्तले बिरामीको पेट सुनिन थालेको र दुखाई बढेको भनेपछि नर्सले दुखाई कम हुने इन्जेक्सन लगाईदिईन्। बिरामीको अवस्था बिग्रँदै गयो। तर शल्यक्रिया गर्ने चिकित्सक आएनन्। ७ बजे चौधरी बेहोस भए। बिरामीको अवस्था बिग्रँदा पनि समयमै चिकित्सक नआएर ढिलो आएको आफन्तको भनाई छ।

साँझ ८ बजे आएका चिकित्सकले सिरिन्ज बाट पेटभित्र भरिएको रगत झिक्ने प्रयास गरे। पत्थरीको शल्यक्रिया गर्दा भएको लापरबाहीले मिर्गौलाबाट भएको व्यापक रक्तश्राव नरोकिएपछि राती १२ बजेतिर डाक्टरले मिर्गौला नै झिक्ने निधो गरे।

‘राती १२ बजे आएर डाक्टरले बिरामीको ज्यान बचाउन किड्नी झिक्नु पर्छ भन्नु भयो’ मृतकका छोरा बुद्धिराम चौधरीले भने, ‘बुवाको ज्यान नै नबाच्ने भएपछि मिर्गौला झिकेर हुन्छ भने पनि हामीले ठिकै छ भन्यौँ’।

आइतबार बिहान २ बजे डाक्टर फेरी आएर किड्नी देखाउँदै शल्यक्रिया सफल भएको बताए। तर शल्यक्रिया पछि बुबा राखेको ठाउँमा जान नदिएको उनले बताए।

‘बुबाको आइतबार दिउसो २ बजे नै मृत्यु भईसकेपनि हामीलाई आज सोमबार मात्र जानकारी दिइयो’ उनले भने, ‘डाक्टरले लापरबाही गरेर मेरो बुबालाई मारिदियो’। लापरबाही गरेर बुबालाई मार्ने चिकित्सक तिवारीलाई कारबाही हुनुपर्ने आफन्तको माग छ।

स्वस्तिक अस्पतालले सोमबार बिहान साढे ९ बजे चौधरीको मृत्यु भएको बताएको छ।

स्वस्तिक अस्पतालका अध्यक्ष महेश जोशीले शल्यक्रियामा डाक्टरको लापरबाही भएर बताए। पत्थरीको शल्यक्रिया गरेपछि मिर्गौलाबाट भइरहेको रक्तश्राव नरोकिएकोले मिर्गौला निकालिएको उनले बताए। भवितव्यले बिरामीको मृत्यु भएको उनले बताए। प्राविधिक कुरो नबुझेर डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको आफन्तले भनिरहेको उनको भनाई छ। ‘रक्तश्राव नथामिएपछि मिर्गौला झिक्नु नै अन्तिम विकल्प थियो’ उनले भने।

उता मृतकका छोराले डाक्टरको लापरबाहीले बुबाको मृत्यु भएको भन्दै डा तिवारीको विरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी लेखेर दर्ता गराउन जिल्ला प्रहरी कार्यालय कैलाली पुगेका थिए।

प्रहरीले उनको जाहेरी दर्ता गरेन। कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले चिकित्सकको लापरबाहीको मृत्यु भए नभएको भन्ने विषयका उजुरी मेडिकल काउन्सिलले हेर्ने भएकाले प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले दर्ता नगरेको बताए।

घटनाको अनुसन्धान गरेर त्रुटि भएको पाइए मेडिकल काउन्सिललाई जानकारी लेखि पठाइने उनको भनाई छ।

स्रोत : नागरिक

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्