वर्षाले विद्युत पोलमा क्षति हुँदा तनहुँका दुई पालिकामा विद्युत् सेवा अवरुद्ध

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली- शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिराले विद्युत् पोलमा क्षति हुँदा तनहुँका दुई पालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ। विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले दिएको जानकारी अनुसार जिल्लाको म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाका केही वडामा विद्युत् सेवा अवरुद्ध भएको हो।

पृथ्वी राजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका–६ मौरी ओढारमा पहिराका कारण सातवटा विद्युत् पोल ढलेका कारण उक्त दुई पालिकामा विद्युत् सञ्चालन गर्न कठिनाइ भएको वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिए।

व्यास नगरपालिका–१ र ३ जोड्ने बुल्दीखोलाले पोल बगाउँदा अवरोध भएको विद्युत् सेवा भने मर्मतपछि पुनः सञ्चालनमा आएको उनले बताए। यसैगरी व्यास नगरपालिका–४ स्थित सिमलटार नजिक विद्युत् पोल ढालेर क्षति भएकामा मर्मत गरी ६ घण्टापछि विद्युत् सेवा सञ्चालनमा ल्याइएको छ।

ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काममा अवरोध भएको छ। सुरुङ खन्ने ठाउँमा बाढी पसेकाले पानी काममा अवरोध भएको तर क्षति भएका दुई वटा पोल परिवर्तन गरी विद्युत् सेवा भने सुरु भएको रेग्मीले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्