च्याम्पियन्स लिग: पिएसजीलाई हराउँदै ११ वर्षपछि डर्टमुण्ड फाइनलमा

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं : युरोपियन च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बौरुसिया डर्टमुण्डले फाइनलमा स्थान पक्का गरेको छ। फ्रेन्च क्लब पिएसजीलाई दोस्रो लेगमा १-० ले हराउँदै समग्रमा २-० को जितसँगै डर्टमुन्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो। डर्टमुण्डले च्याम्पियन्स लिग पहिलो पटक १९९७ मा जितेको थियो।

पिएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डको जितमा म्याट्स हुमेल्सले गरेको गोल निर्णायक बन्यो। पिएसजीका स्टार स्ट्राइकर केलिएन एम्बाप्पेको पिएसजीलाई च्याम्पियन्स लिग जिताउने धोको भने पराजित भएसँगै अधुरो रह्यो।

घरेलु मैदानमा पनि पिएसजीले डर्टमुण्डको रक्षात्मक लयलाई भत्काउन सकेन भने उसका तीन भन्दा बढी प्रहारमा पोस्ट बाधक बन्यो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा ४७औं मिनेटमा वेन जाएर एमेरीले पिएसजीलाई अग्रता दिलाउने अवसरमा चुक्न पुगे। उनले गरेको प्रहार पोस्टमा लाग्न पुगेको थियो। त्यसको तीन मिनेटपछि नै डर्टमुण्डले खेलमा अग्रता लियो।

जुलियन ब्रान्ड्टको कर्नरमा म्याट्स हुमेल्सले गरेको हेड गोलमा परिणत हुँदा डर्टमुण्डलाई खेलमा अग्रता बनायो। समग्रमा दुई गोलले पछि परेपछि पनि पिएसजीले खेलमा फर्कन निरन्तर प्रयास गरेको थियो। ६१औं मिनेटमा पिएसजीका नुनो मेन्डेजले गरेको प्रहार पनि पोलमा लाग्न पुगेको थियो।

६५औं मिनेटमा उस्मान डेम्बेले माथि फाउल भएपछि रेफ्रीले पिएसजीलाई पेनाल्टी दिएका थिए। तर भिएआरले बक्स बाहिर रहेको निर्णय गरेपछि सम्भावित पेनाल्टीको अवसर गुमाएको थियो।

खेलमा निरन्तर आक्रमण जारी राखेको पिएसजीका लागि ८७औं मिनेट एमबाप्पेले गरेको प्रहार क्रसबारमा लाग्न पुग्दा ८८औं मिनेटमा भिटिन्हाको अर्को प्रहारमा पनि क्रसबार बाधक बन्यो। एकपछि अर्को प्रहार पोलमा लाग्दा पिएसजी स्तब्ध बन्न पुग्यो।

यसअघि गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० ले अग्रता बनाउन सफल भएको थियो। डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले गरेको एकमात्र गोल निर्णायक बनेको थियो।

डर्टमुण्डले अब रियल म्याड्रिड र बायर्न म्युनिखबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्। यी दुई टोली बीचको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्