वाराणसी- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्धमा वाराणसीबाट स्ट्याण्ड अप कमेडियन तथा युट्युबर श्याम रंगिलाले समेत लोकसभा निर्वाचनका लागि उमेदवारी दर्ता गरेका छन् ।
सोसम्बन्धमा सोसल मिडियामा जानकारी दिँदै उनले एक्समा लेखेका छन्, “तपाईंहरू सबैको माया र सहयोगबाट नियमअनुसार सबै प्रक्रिया पूरा गरेर मैले उमेदवारी दर्ता गरेको छु । मेरो यो देशको लोकतन्त्रप्रति अझै पनि भरोसा रहेको छ । अब आगामी दुई तीन दिन महत्वपूर्ण हुनेछन् । तपाईंहरु सबैको सहयोगका लागि धेरै धन्यवाद ।”
यसअघि उनले उमेदवारी दिन नपाएको भन्दै गुनासो गरेका थिए । उनका फेसबुक पेजमा आठ लाखभन्दा बढी र युट्युबमा करिब साढे ९ लाख फलोअर्स छन् ।
प्रधानमन्त्री मोदीले पनि मंगलबार वाराणसीबाट उमेदवारी दर्ता गराएका थिए । उनी यसपालि तेस्रोपटक सो क्षेत्रबाट चुनाव लड्दैछन् ।
उमेदवारी दर्ता गर्ने क्रममा उनले सोसल मिडियामा भनेका थिए, “कासीको मेरो परिवारजनमा हृदयबाट नै आभार । वाराणसीबाट लगातार तेस्रोपटक उमेदवारी दर्ता गर्दा निकै उत्साहित छु । बितेका १० वर्षमा तपाईंहरू सबैबाट अद्भूत स्नेह र आशीर्वाद मिलेको छ । त्यसले मलाई निरन्तर सेवाभाव र संकल्पको साथ काम गर्नका लागि प्रेरित गरेको छ । यहाँहरूको भरपुर समर्थन र सहभागिताले म आफ्नो तेस्रो कार्यकालमा पनि नयाँ ऊर्जा—शक्तिका साथ यहाँको चौतर्फी विकास र जनताको कल्याणमा जुटिरहनेछु ।” बीबसी